काठमाडौँ — मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि छिटपुट वर्षा भइरहेको छ ।

यतिबेला कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही भू–भागका साथै सुदूरपश्चिम र बागमती प्रदेशको केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागको थोरै स्थानहरूमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । यस्तैगरी आज राति पनि देशभर आंशिक देखि साधरणतया बदली रहने छ । आज राती कोशी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।