काठमाडौँ — काठमाडौँस्थित पाकिस्तानी राजदूतावासले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आजदेखि धुम्बाराहीस्थित क्रिकेट मैदानमा प्रारम्भ भएको छ । नेपालका लागि पाकिस्तानका राजदूत अबरर हुसेन हास्मी र नेपाल क्रिकेट सङ्घका पूर्वअध्यक्ष विनयराज पाण्डेले संयुक्तरूपमा उक्त प्रतियोतिता उद्घाटन गर्नुभएको हो ।
त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत हास्मीले दुवै देशका युवा वर्गबीच खेलकुदका माध्यमबाट पारस्परिक सम्बन्धलाई जोड्ने प्रयासस्वरुप नौ वर्षदेखि प्रतियोगिता आयोजना गरिँदै आएको बताउनुभयो ।
शिक्षा तथा खेलकुदका माध्यमबाट युवा वर्गलाई रचनात्मक काममा प्रेरित गर्न भएका प्रयासको पूर्वअध्यक्ष पाण्डेले सराहना गर्दै नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० प्रतियोगिताले नयाँ प्रतिभा जन्माउने विश्वास व्यक्त गर्नुभयो ।
आगामी नौ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा टोलीबीच प्रतिस्पर्धा हुनेछ । टोलीमा पाकिस्तानी दूतावास क्रिकेट क्लब, हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट क्लबलगायत सहभागी छन् ।