बुटवल — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री प्रचण्डले लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकलाई आज शनिबार आज दिउँसो २ बजे सम्बोधन गर्नुहुने भएको हो ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार प्रधानमन्त्री आउनुहुने भएपछि प्रदेशसभा भवन परिसर आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री प्रचण्डले नेपाली सेनाको हेलिकप्टरमार्फत् आदर्श नमुना माध्यमिक विद्यालय परिसर क्षेत्रमा ओर्लने र त्यहाँबाट सिँधै प्रदेश सभामा पुगेर सम्बोधन गर्नुहुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले बैठकलाई सम्बोधन गरेपछि मुख्यमन्त्री, सभामुखलगायत प्रदेशका मन्त्रीहरूसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । प्रदेशसभाको कार्यक्रम सकेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले राप्ती गाउँपालिकाको सभाहलमा आयोजना हुने माओवादी केन्द्रको जिल्ला स्तरीय पार्टी कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।