फाइल तस्वीर
म्याग्दी – युवालाई कृषि तथा पशुपन्छीपालनसम्बन्धी व्यवसायमा आकर्षित गराउन म्याग्दी र मुस्ताङ कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ म्याग्दी/मुस्ताङले १८ देखि ५० वर्ष उमेर समूहका उद्यमीका लागि कृषि तथा पशुपन्छीसम्बन्धी उद्यम व्यवसाय गर्न सघाउने उद्देश्यले कार्यक्रम सुरु गरेको हो ।

परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ बजेट रहेको यस कार्यक्रमका लागि आगामी चैत १५ गतेभित्र आवेदन पेश गर्न सूचना जारी गरिएको राससलाई जानकारी दिनुभयो । “कृषि तथा पशुपन्छीमा आधारित उद्यम गर्ने लक्षित उमेर समूहका सदस्यबाट सञ्चालित कृषि समूह, सहकारी वा निजी कृषि फार्म, कम्पनी र उद्यमीले अधिकतम चार लाख रुपैयाँका दरले अनुदान पाउने छन्”, उहाँले भन्नुभयो, “मुस्ताङ र म्याग्दीबाट सङ्कलन हुने आवेदनमध्ये १५ वटालाई अनुदानका लागि छनोट गरिनेछ ।”

तरकारी खेती, दूध, मासु, जौ, फापर, सिलाम, कोदो, फलफूल उत्पादन र प्रशोधन, बजारीकरण, साना तथा मझौला चिस्यानगृह र पशुपन्छी तथा माछापालन गर्नेलाई ५० प्रतिशतका दरले अनुदान उपलब्ध गराउने परियोजनाले जनाएको छ । म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङमा स्याउ, च्याङ्ग्रा, सुन्तला, आलु र बङ्गुर जोन कार्यक्रम सञ्चालन गरेको परियोजनाले यसवर्ष युवालाई लक्षित गरेर कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्न लागेको हो ।