फाइल तस्वीर
मकवानपुर — बागमती प्रदेशमा बजेटसम्बन्धी विषयमा सरकार र प्रतिपक्षी दलबीचको विवाद समाधान गर्ने प्रयास गरिएको छ । सभाको बैठकले सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको सहमति कार्यान्वयनका साथै संसद्को गतिरोध अन्त्यका लागि विशेष समिति गठन गर्दै विवाद समाधान गर्ने प्रयास गरिएको हो ।

आज बिहीबार बसेको बागमती प्रदेशसभाको बैठकले प्रदेशसभा नियमावली २०७४ पहिलो संशोधनको नियम १५२ बमोजिम २०८०/०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समिति गठन गरेको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को बजेट समानुपातिक नभएको भन्दै विपक्षी दलहरूले लामो समयदेखि असन्तुष्टी व्यक्त गर्दै आएका छन् । सरकार र प्रतिपक्षी दलबीच बजेटसम्बन्धमा अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गत असार १८ गते सरकारले बजेट पारित गर्न प्रतिपक्ष दलहरूसँग ३ बुँदे सहमति गरेको थियो । उक्त सहमतिमा विपक्षी दलका सांसदहरूले दिएका योजना समावेश गर्ने भनिएको थियो । तर प्रतिपक्षी दलले आफुसँग गरिएको सहमतिलाई सरकारले बेवास्था गर्दै आएको भनि सरकारको विरोध गदै आएका छन् । विपक्षी दलको विरोधका कारण बागमती प्रदेशमा गत चार महिनादेखि प्रदेशसभाको बैठक बस्न सकेको छैन ।

प्रदेशसभाको बैठक बस्न फागुन १५ गते आह्वान गरिएको थियो । बैठक सञ्चालन गर्न पटक–पटक सर्वदलीय बैठक समेत बस्यो तर अहिलेसम्म निकास निस्केको छैन । आज बिहीबार बसेको सर्वदलीय बैठकले संसदीय समिति गठन गर्ने र बैठक सञ्चालन गर्ने सहमति गरिएपछि आज चार महिनापछि प्रदेशसभाको बैठक बसेको छ ।

आजको बैठकमा विशेष समिति गठन सम्बन्धी प्रस्ताव पेश गरिएको थियो । प्रस्ताव नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले पेश गर्नुभएपछि उक्त प्रस्तावलाई काङग्रेस संसदीय दलका सचेतक गोविन्द लम्साल, नेकपा एमाले संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेल र राप्रपाका सांसद राजेन्द्र प्रजापतिले समर्थन गर्नुभएको थियो । उहाँहरूको समर्थन सहित संसदमा पेस गरिएको सो समिति गठन सम्बन्धी प्रस्ताव सर्वसम्मत स्वीकृत भएको सभामुख भुवनकुमार पाठकले बैठकलाई जानकारी गराउनुभएको थियो ।

नेपाली काङग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्साल संयोजक रहनुभएको उक्त समितिमा काङग्रेसका सांसद प्रभात तामाङ, नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतकरत्नप्रसाद ढकाल, सांसद इन्द्रप्रसाद गोतामे, नेकपा एकीकृत समाजवादीका सांसद रमा आले मगर, वसन्त मानन्धर, र हाम्रो नेपाली पार्टीबाट संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य गरी ११ जना सदस्यको समिति गठन गरिएको छ । समितिको सदस्यमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेल, सांसद डा. दिनेशचन्द्र देवकोटा हुनुहुन्छ भने प्रतिपक्ष दल राप्रपा संसदीय दलका नेता उद्धव थापा, सांसद गिरबहादुर तामाङ हुनुहुन्छ । सो समितिले अध्ययन तथा परामर्श गरी आगामी फागुन २९ गते दिउँसो ३ बजे बस्ने बैठकमा प्रतिवेदन पेस गर्नुपर्नेछ ।

समितिमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा एमाले, राप्रपाबाट २–२ जना र हाम्रो नेपाली पार्टीबाट एक जना सांसद सदस्य रहनुभएको छ । समितिको काम कारबाही अघि बढाउन समिति आफैंले कार्यविधि तोके बमोजिम हुने व्यवस्था गरिएको छ ।