फाइल तस्वीर
काठमाडौँ — नेपालले आज उपाधिको लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपालले आज बिहीबार राति पौने १० बजे जोर्डनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

साउदी अरेबियामा जारी उक्त प्रतियोगितामा नेपालले अहिलेसम्म कुनै हार नव्यहोरी फाइनलको स्थान सुरक्षित गरेको थियो । नेपालले आजको खेलमा आफुभन्दा केही बलियो मानिएको जोर्डनलाई पाखा लगाउँदै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पहिलोपटक उपाधि चुम्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

आज जोर्डनविरुद्धको फाइनल खेलमा नेपाललाई केही धक्का लाग्ने छ । किनकी नेपालकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ जोर्डनविरुद्ध खेल्न मैदानमा देखिने छैनन् । उनको अनुपस्थित नेपाली टिमका लागि खट्किने निश्चित् छ । साम्बा फ्रान्सेली क्लब ईभी गुइनगाम्पमा अनुबन्धित भएका कारण व्यावसायिक फुटबल खेल्न उनी त्यसतर्फ जानुपर्ने भएकाले आजको फाइनल खेल उनले गुमाउने छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार वाफ च्याम्पियनसिपको फाइनलअघि नै उनी फ्रान्स फर्कने छन् ।

विश्व फुटबल महासङघ (फिफा) को नियम अनुसार, राष्ट्रिय टोलीको खेल फिफा विण्डोमा रहेको अवस्थामा मात्र खेलाडीले देशको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । वाफ च्याम्पियनसिपको फाइनलअघिको खेलमात्र फिफा विण्डोमा रहेको थियो ।

तर, वाफ च्याम्पियनसिपको फाइनल खेल भने फिफा विण्डोभन्दा बाहिर रहेकाले सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो देशको लागि फाइनल खेल खेल्न नभ्याउने भएकी हुन् । उनी नेपालको फाइनल खेल छाडेर व्यावसायिक फुटबल खेल्न फ्रान्स फर्कनु परेको हो । नेपाललाई वाफ प्रतियोगितको फाइनलमा पुर्र्याउन ‘साम्बा’ को मूख्य भूमिका रहेको छ । जारी वाफ च्याम्पियनसिपमा सावित्राले नौ गोल गरिसकेकी छन् । उनी जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।

साम्बाले समूहगत चरणमा सिरियाविरुद्ध एक गोल, इराकविरुद्ध पाँच गोल र प्यालेस्टाइनविरुद्ध दुई गोल गरेकी थिइन् । उनले लेबननविरुद्धको सेमिफाइनल खेलमा पनि एक गोल गरेकी थिइन् । सेमिफाइनल खेलमा नेपालले लेबननलाई २–१ गोलले पाखालगाउँदै फाइनलमा प्रवेश गरेको हो ।

समूह ‘बी’ मा रहेको नेपाल समूहको विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो । नेपालले समूहगत चरणका सबै खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेको थियो । नेपालले पहिलो खेलमा सिरियालाई ४–१, इराकलाई ५–० र प्यालेस्टाइनलाई ४–० गोलले हराएको थियो । जारी प्रतियोगितामा नेपालले १५ गोल गरिसकेको छ भने दुई गोलमात्र खाएको छ ।

जारी प्रतियोगितामा जोर्डन पनि बलियो टोलीका रुपमा देखिएको छ । जोर्डन समूह ‘ए’ बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । जोर्डनले पनि समूहगत चरणमा आफ्नो सबै खेल जितेको सेमिफाइनल जित्दै फाइनलमा नेपालसँगको भिड्न्त पक्का गरेको हो ।

जोर्डनले पहिलो खेलमा आयोजक साउदी अरेबियालाई ३–१, दोस्रो खेलमा ग्वामलाई ३–० र तेस्रो खेलमा लेबननलाई २–० गोलले हराएको थियो । सेमिफाइनलमा भने जोर्डनले प्यालेस्टाइनमाथि ५–० गोलको फराकिलो जित हात पारेको थियो ।

जोर्डनले फाइनलको यात्रा तय गर्दासम्म विपक्षीको पोस्टमा १३ गोल गरिसकेको छ । हालसम्म जोर्डनले एक गोलमात्र खाएको छ । जारी प्रतियोगितामा जोर्डनकी मायसा जबारह सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा दोस्रो स्थानमा छिन् । जोर्डन फाइनलमा प्रवेश गर्दासम्म उनले पाँच गोल गरिसकेकी छन् ।

नेपाल र जोर्डनबीच आज हुने फाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । नेपाल आमन्त्रित टोलीको रुपमा यो प्रतियोगितामा सहभागी भएको थियो । फाइनल खेल गुमाउन पुगेकी साम्बाका कारण नेपालले जोर्डनसँग सङ्घर्षपूर्ण खेल पस्कनुपर्ने छ । शारिरीक रुपमा नेपालभन्दा जोर्डनका खेलाडीहरु बलिया र अग्ला कदका देखिन्छन् । साम्बाको अनुपस्थितिले जोर्डनलाई केही राहत हुने निश्चित् छ । यद्यपि, खेल हो, नतिजा कस्तो पोल्टामा पुग्छ भन्ने कुरा खेलको अन्तिम नतिजाले देखाउने छ ।