फाइल तस्वीर
काठमाडौँ — टी–२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत आज बुधबार भएको खेलमा नेपाल नेदरल्याण्डसँग हार्दै स्तब्ध बन्न पुगेको छ । आजनामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजमा घरेलु टिम नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।

सिरिजको पहिलो खेलमा हिजो नामिबियासँग २० रनले पराजित भएको नेपाल आफ्नो दोस्रो खेलमा आज नेपाल नेदरलयाण्ड्ससँग २ रनले पराजित भएको छ ।

डच टोलीले दिएको १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८२ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेता पनि नेपाली टोलीले हार टार्न सकेनन् ।

सातौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरी र करण केसीले ५५ रनको साझेदारी गरेपछि नेपाल एक समय जित नजिक पुगेको थियो । तर यी दुवै खेलाडी पेभेलियन फर्केपछि नेपालको जितको आशा समाप्त हुन पुग्यो ।

दीपेन्द्र ६३ रनमा बोल्ड आउट भए। ३४ बलमा ६ चौका र ३ छक्का हानेका दिपेन्द्र भान डेर मेर्भेको बलमा बोल्ड आउट हुन पुगेका थिए । त्यसअघि दिपेन्द्रले २८ बलमा ५ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गर्दैगर्दा टी–२० आईमा दीपेन्द्रको यो आठौँ अर्धशतक बन्न पुगेको छ ।

करण केसी ११ रनमा रन आउट भएका थिए भने कप्तान रोहित पौडेल ५० रनमा पेभेलियन फर्किन बाध्य भए । १२ औँ ओभरको चौथो बलमा कप्तान रोहितले ३५ बलमा ४ चौका र २ छक्का मद्दतमा अर्धशतक पूरा गरेका उनको टी–२० आईमा यो छैटौँ अर्धशतक हो । १२ औँ ओभरको चौथो बलमा अर्धशतक हानेका रोहित अन्तिम बलमा उनी आउट हुन पुगे ।

नेपालले १२ औँ ओभरमा दुई विकेट गुमाउँदै सोही ओभरको दोस्रो बलमा कुशल मल्ल ११ रन मात्रै बनाएर आउट हुन पुगेका थिए । नवौँ ओभरको पहिलो बलमा ओपनर आशिफ शेख आउट भए । २२ बलमा ४ चौका र १ छक्का सहयोगमा ३४ रन बनाएका आशिफ भान डेर मेर्भेको बलमा पेभेलियन फर्के ।

सन्दीप जोरा ८ रन बनाउँदा एलबीडब्लु धराप परेभने सोमपाल कामी शुन्य रनमा नै आउट हुँदा नेपालको जितमा धक्का लाग्न पुग्यो ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको थियो ।

ओपनर माइकल लेविट ५४ रन बनाउँदा आउट भए। कुशल मल्लले वौँ ओभरको पाचौँ बलमा माइक्ललाई ५४ रनमा विकेटकिपर आशिफ शेखको हातबाट आउट गराए। माइकलले ३६ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए।

तेस्रो विकेटका लागि स्कट र सेब्रान्ड एंगेलब्रेचले ६४ रनको साझेदारी गरेका थिए। १३ औँ ओभरको अन्तिम बलमा ३३ रन बनाएका कप्तान स्कट इडवार्डलाई रन आउट भए। १६ बलमा ५ चौका हानेका कप्तान आउट भएसँगै नेपाललाई केही राहत मिलेको थियो।

तेस्रो ओभरको पहिलो करण केसीले ओपनर क्याक्स ओ डाउडलाई दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराए। म्याक्स ओ डाउडले ४ रन बनाउँदै पेभेलियन फर्के ।

चौथो विकेटका लागि सेबार्ड र तेजा निदामनुरुले ६१ रनको साझेदारी गरे । तेजा ३१ रन बनाउँदा रन आउट भए । सेब्राट ४९ रनमा नटआउट रहँदै ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

सिरिजको तेस्रो खेल भोलि बिहीबार नामिबिया र नेदरल्यान्ड्सबीच हुनेछ । उक्त खेल बिहान साढे ११ बजे सुरु हुने तालिका छ ।