तस्वीरमा नामिबियाका खेलाडी
काठमाडौँ — कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय स्थित क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।

टस जितेर ब्याटिङ रोजेको नामिबियाले २०७ रनको लक्ष्य दिएकोमा नेपाल १८ दशमलव ५ ओभरमा १८६ रनमा अल आउट हुँदै पराजय भोग्न बाध्य भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिन सफल भएका थिए ।

नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो । लोफ्टी इटनले १०१ रन बनाए । त्यसक्रममा उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोड्न समेत सफल भएकाछन् । मल्लले एसियाली खेलकुदमा मङ्गोलियाविरुद्ध ३४ बलमा शतक बनाएर सबभन्दा कम बलमा १०० रनको रेकर्ड बनाएका थिए ।

लोफ्टी इटनले ३३ बलमै शतक पूरा गर्ने क्रममा ११ चौका र ८ छक्का हानेका छन् । मुलान क्रुगरले ५९ रन बनाए भने माइकल भान लिङ्गनले २० रन बनाए ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक÷एक विकेट लिएका थिए ।