मकवानपुर — बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बैठक प्रदेशसभा सचिवालयमा अपराह्न ३ बजे बस्ने तय भएको हो ।
प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आजको बैठकमा प्रदेशसभाका सत्तापक्ष र प्रतिपक्षी दलका संसदीय दलका नेताहरुले सम्बोधन गर्ने र केही विधेयक पनि प्रस्तुत हुने कार्यसूची रहेको छ ।
आजको प्रदेशसभा बैठकअघि सर्वदलीय बैठक बस्दैछ । यसअघि बसेको सर्वदलीय बैठकमा संसद् सञ्चालनको विषयमा सहमति जुटे पनि सत्तापक्ष र प्रतिपक्ष दलबीचको पूर्वनिर्धारित सहमतिका विषयमा भने कुरा मिल्न सकेको थिएन ।
सोही विषयमा छलफल गरी सहमतिमा पुग्नेगरी आज पनि सर्वदलीय बैठक बस्न लागेको हो । बागमती प्रदेशसभाको बैठक यसअघि गत असोज २२ गतेदेखि बसेको छैन । दलबीचको विवादका कारण यहाँको प्रदेशसभा बैठक प्रभावित हुँदै आएको हो ।