दुर्घटनाग्रस्थ स्कारपियो ।


सर्लाही — सर्लाहीको कौडेनामा भारतीय नम्बरको स्कारपियो गाडीले मोटरसाइकललाई ठक्करदिंदा दुई युवकको मृत्यु भएको छ । भारतीय एचआर ५९ ए ०१३१ नम्बरको स्कारपियो गाडीले भारतीय नम्बर प्लेटकै बीआर ०६ सी वाई ५०८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुवैजना नेपाली युवाको मृत्युभएको हो ।

सर्लाहीबाट रौटहट फर्किँदै गरेका युवा सवार मोरसाइकललाई तीव्र गतिको भारतीय नम्बर प्लेटको स्कारपियोले ठक्कर दिएपछि स्कारपियो गाडीका चालक फरार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपेन्द्र पञ्जियारले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी पञ्जियारका अनुसार उक्त दुर्घटना गएराति सवा नौ बजे तिर हुलाकी राजमार्गमा पर्ने कौडेना गाउँपालिका–३ मा भएको हो । डिएसपी पञ्जियारका अनुसार उक्त दुर्घटनामा परी ज्यान गुमाउनेमा रौतहटको माधवनारायण नगरपालिका–६ का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतो रहेका छन् । स्कारपियोको ठक्करबाट गम्भीर घाइते भएका ति युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनाग्रस्थ दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइलकलाई ठक्करदिने स्कारपियोका फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।