फाइल तस्वीर
काठमाडौँ — प्रसिद्ध सङ्गीतकार एवम् वरिष्ठ गायक, भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ । आज सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा ८२ वर्षीय आचार्यको बाटोमै निधन भएको हो । संगीतकार चेतन सापकोटाले जानकारी दिए ।

भजन शिरोमणिको रुपमा परिचित वरिष्ठ गायक आचार्य विगत ३० वर्षदेखि विरामी जीवन बिताउँदै आउनुभएको थियो । अपरान्ह साढे चारबजे तिर उहाँको स्वास्थ्यमा गम्भीररुपमा अक्सिजनको मात्रा कम भएपछि उपचारार्थ अस्पताल लगिंदै थियो । यस अघि गत दशैंमा लडेर उहाँको टाउकोमा चोट लागेपछि थला पर्नुभएका आर्चायको निधनले नेपाली साङ्गीतिक क्षेत्रले ठूलो क्षति भोग्नु परेको छ ।

विक्रम सम्वत् १९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ । उहाँ स्वरसम्राट स्वर्गीय नारायणगोपालका समकालीन गायक हुनुहुन्छ । करिब चार सय गीतमा स्वर र सङ्गीत दिनुभएको आचार्यका गीतहरु लोकप्रिय छन् । भजन शिरोमणि आयार्चले दर्जनौं सङ्ख्या भजनहरुसमेत गाउनुभएको छ ।

‘जहाँ छन् बुद्धका आँखा’ बोलको कालजयी गीतको जादुमय स्वरका धनी आचार्यको निधनले नेपाली साङ्गीगित क्षेत्रले एउटा होनहार पात्रलाई गुमाउन पुगेको छ । उहाँका दुई छोरा सत्यराज र स्वरुपराज पनि नेपाली साङ्गीतिक क्षेत्रमा स्थापित हुनुहुन्छ ।

प्रसिद्ध सङ्गीतकार एवम् वरिष्ठ गायक, भजन शिरोमणि आचार्यको निधनप्रति सङ्गीतकर्मी, सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

दिवङ्गत हुनुभएका आचार्यको पार्थिव शरीरलाई भोली मङ्गलबार बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि राष्ट्रिय सम्मानका साथ उहाँको अन्तिम बिदाइ गर्ने तयारी छ ।