फाइल तस्वीर
काठमाडौँ — अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभा बैठकमा आज पेश गर्नुभएको आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ । अर्थमन्त्री डा महतले आज सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्तुत गर्नुभएको हो ।

उक्त विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा फागुन २१ गते सोमबारदेखि छलफल हुने कार्यक्रम तयभएको छ । सभामुख देवराज घिमिरले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल यही फागुन २१, २२, २३, ३० र आगामी चैत १, २ र ४ गते दिनहरु तोक्नुभएको छ ।

उक्त छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिन सम्बधित संसदीय दलका पदाधिकारीहरुले आ–आफ्ना दलका बक्ता सदस्यहरुको नाम एक बैठक बस्नु एक घण्टा अघि नै नाम सङ्घीय संसद सचिवालयमा टिपाउन बैठकमा जानकारी गराउनुभयो ।

बैठकमा सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले राष्ट्रियसभामा उत्पति भएको ‘विधायनसमबन्धी विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक यही फागनु १८ गते शुक्रबार ११ बजे बस्नेभएको छ ।