फाइल तस्वीर
धनुषा — धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा मदन भण्डारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिता आयोजना हुने भएको छ । नगरपालिकाको वडा नं ५ महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि उक्त प्रतियोगिता सुरुहुन लागेको हो ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित सो प्रतियोगितामा कर्णालीबाहेक अन्य छ प्रदेश, नेपाली सेना तथा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका आठ टिमका एक सय ४४ खेलाडीको सहभागिता रहने छ । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार प्रतियोगिता यही फागुन १९ गतेसम्म सञ्चालन हुने छ । खेलकुदमार्फत् देशको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बढाउनका प्रतियोगिता आयोजना हुन लागेको उहाँले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख ५० हजार रुपैयाँ र ट्रफी, द्वितीय हुनेलाई ट्रफी सहित एक लाख रुपैयाँ र तृतीय हुने टिमलाई ट्रफी सहित ५० हजार रुपैयाँ नगद प्रदान गरिने छ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ र प्रतियोगितामा ५६ लाख १३ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको जनाइएको छ ।