फाइल तस्वीर
विराटनगर — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमाओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने निर्वाचनमा नेपाली काङ्ग्रेसँग गठबन्धन नगर्ने भएको छ । संविधानसभाका अध्यक्षसमेत रहनुभएका इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण मृत्यु भएपछि रिक्त भएको क्षेत्रमा हुने निर्वाचनमा माओवादी केन्द्रले काङ्ग्रेससँग सहमति नगर्ने सङ्केत देखाएको हो ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले पार्टी नेतृत्वलाई यस उपनिर्वाचनमा कसैसँग गठबन्धन नगरी चुनावी प्रतिपर्धा जान सुझाउनुभएको छ । अध्यक्ष नेम्वाङले माओवादीको मत सुरक्षित राखेर सङ्गठनको वास्तविक धरातललाई अघिबढाउन चाहेको देखिन्छ । उहाँ भन्नुहुन्छ ‘एक पटक परीक्षणमा जाऔँ भनेका छौँ । त्यसका लागि हामीले इलाममै बैठक बोलाउने तयारी गरेका छौँ ।’

त्यसोत उपनिर्वाचन हुन अझै दुई महिना बाँकी छ । यसबीच विभिन्न राजनीतिक दलहरुले सो उपनिर्वाचनको लागि आन्तरिक छलफल र गृहकार्यमा जुटेका छन् । निर्वाचन आयोगले आज आइतबारमात्रै इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८१ साल वैशाख १५ गते उपनिर्वाचन गराउने निर्णय गरेको छ । आयोगको निर्णयसँगै चुनावी माहोल तात्न पुगेको छ ।

मुख्यतया नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी केन्द्र चुनावी तयारीको लागि आन्तरिक छलफल, भेटघाटमा व्यक्त देखिएका छन् । नयाँ दलको रुपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि त्यसक्षेत्रमा प्रतिस्पर्धा गर्ने चासो देखाएर सङ्गठन विस्तारमा जुटेको छ ।

कोशी प्रदेशमा पहिचानवादीहरुले आन्दोलन गर्दै आएकाले पहिचानवादीहरू उक्त निर्वाचनमा सङ्गठित रुपमा साझा उम्मेदवार बनाएर काङ्ग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलहरुविरुद्ध चुनावी मैदानमा उत्रने बलियो सम्भावना देखिएको छ ।

एमालेको पकड क्षेत्र मानिएको यस क्षेत्रमा निधन हुनुभएका प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको विरासत जोगाउन एमालेले कस्तो उम्मेदवार उठाउने छ भन्ने हेर्न बाँकी नै छ । गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा त्यसक्षेत्रबाट सुवास नेम्वाङ निर्वाचित हुनुभएको थियो । जवकी त्यस क्षेत्रमा काङ्ग्रेस, माओवादी र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन बनेको थियो । यति गर्दा पनि एमालेले उक्त क्षेत्रमा विजयी प्राप्त गरेको थियो ।

एमालेले यो निर्वाचन क्षेत्रबाट आफ्नो पकड कायम राख्न पनि सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउन सक्ने सम्भावना देखिन्छ । नेम्वाङका छोरा सुहाङले पनि यस क्षेत्रबाट निर्वाचन लडेर बाबुको विराशत लिन चाहेको देखिन्छ । तर एमालेमा ठूला नेताहरुले पनि चाहना देखाइरहेका छन् ।

काङ्ग्रेस पनि एमालेको लालकिल्ला भत्काउने रणनीतिमा देखिएको छ । गत मङ्सिरमा सम्पन्न निर्वाचनमा एमालेका उम्मेदवारले ३० हजार २० मत ल्याएर विजयी हुँदा काङ्ग्रेसका उम्मेदवारले २९ हजार ९०६ मत ल्याएका थिए । यो मत परिणामले पनि काङ्ग्रेसले निर्वाचन जित्ने सपना देखेको छ । २०७९ सालको निर्वाचनमा काङ्ग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीबिच गठबन्धन भएको थियो । यस पटक भने गठबन्धन नगर्ने माओवादीको मनसाय देखिएको छ ।