काठमाडौँ — नेपाली काङ्ग्रेसले संविधानसभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको समावेशी संविधानको रक्षा गर्दै प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेसले संविधानको सार्थक कार्यान्वयन आजको राष्ट्रिय दायित्व भएको जनाएको हो । त्यसलाई हृदयंगम गर्दै नेपाली जनताले गरेका क्रान्ति, संर्घष र आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा र संस्थागत विकास गर्नेमा पनि जोड दिएको छ ।

शान्तिप्रक्रियाका बाँकी काम, सङ्क्रमणकालीन न्यायका विषय चाँडै टुंयाउने प्रतिबद्धता जनाउँदै काङ्ग्रेसले भनेको छ, ‘भ्रष्टाचार, बेथिति र विसङ्गतिविरुद्ध वैधानिक रूपमै अभियान सञ्चालन गरी सुशासन र राष्ट्रिय सदाचार स्थापित गर्न सम्पूर्ण रूपले कृतसङ्कल्पित रहने अठोट गर्दछ ।’

अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतीहरूलाई समाधान गर्ने जिम्मेवारी बोध गर्दै काङ्ग्रेसले मुलुकमा विद्यमान सबैखाले सामाजिक एवं जातीय क्षेत्रीय तथा लैंगिक विभेद र हिंसाविरुद्ध अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । तीनै तहका सरकार सञ्चालनमा देखिएका समस्या समाधानका लागि पार्टीको नेतृत्वदायी भूमिकाप्रति सचेत रहेको जनाउँदै काङ्ग्रेसले किसान, सहकारी बचतकर्ता, मिटरब्याज र लघुवित्त पीडितले भोग्दै आएका पीडालाई अविलम्ब समाधान गरी न्याय दिलाउन सरकारलाई ध्यानाकर्षण गराउने पनि उल्लेख छ ।

त्यस्तै ‘राजनीतिक स्थायित्व, रूपान्तरण नवीनता ! स्वतन्त्रता, न्याय र समानता ! नेपाली काङ्ग्रेसको नीतिगत प्रतिबद्धता !’ उद्घोषका साथ सुरु भएको महासमिति बैठक उत्साहका साथ सम्पन्न भएको दाबी काङ्ग्रेसले गरेको छ। ‘यो बैठकबाट हासिल नवीन ऊर्जालाई सम्पूर्ण एकताका साथ सङ्गठन निर्माण र विस्तारमा जुट्दै नेपाल र नेपालीको उज्यालो भविष्यका लागि समर्पित हुने साझा प्रतिबद्धताका साथ यो ऐतिहासिक महासमितिको बैठक सम्पन्न भएको छ,’ काङ्ग्रेसले भनेको छ । २ हजार ३७३ जना सहभागी बैठकमा कोसी र सुदूरपश्चिम प्रदेशका ४८४ जना सहभागीमध्ये १६२, मधेस र कर्णाली प्रदेशका ५१३ जना मध्ये ११८ जनाले आ–आफ्ना धारणा राखेका थिए ।

त्यस्तै बागमती र गण्डकी प्रदेशका ५६१ मध्ये १८८ र लुम्बिनी, भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट ४०३ मध्ये १३३ जना सदस्यले आफ्नो धारणा राखेका थिए। प्राप्त विचार, धारणा र सुझावका आधारमा विभिन्न आठ विषयमा प्रतिबद्धता, संकल्प, आत्मसात् गर्दै महासमिति बैठकमा आएका सुझावलाई समेट्ने गरी प्रतिवेदनहरू पारित भएको जनाएको छ । केन्द्रीय समितिले त्यसलाई परिमार्जनसहित पारित गर्ने कांग्रेसले जनाएको छ ।

महासमितिमा आएका विचार, धारणा र सुझावले पार्टीको नीतिले नेपाल र नेपाली जनतामा पार्टीको स्पष्ट, नवीन विचार र सांगठनिक कार्यक्रमको खाका पस्कने उल्लेख गरिएको छ । ‘यसबाट पार्टी सदस्यबीच ऊर्जा र उत्साह भर्दै मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक–सामाजिक रूपान्तरण, धार्मिक–सामाजिक एवं सांस्कृतिक सद्भाव वृद्धि गरि समाजमा सकारात्मक आशा, विश्वास र भरोसा जगाउनेछ,’ काङ्ग्रेसले भनेको छ । (आजको नागरिक दैनिकबाट)