काठमाडौँ — नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावकै कारण बिहीबार देशका धेरै ठाउँमा वर्षा र हिमपात भएको थियो । यतिबेला कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने भो बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ । आज दिउँसो देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।