नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपालली खेलाडी । तस्वीर : क्यान

काठमाडौँ — आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल नामिबियासँग पराजित हुन पुगेको छ । त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नामिबियासँग नेपाल दुई विकेटले पराजित हुन पुगेको हो ।
नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजमा अहिलेसम्म एक खेलमात्र जितेको नेपालले दिएको एक सय ६९ रनको मध्यम लक्ष्य पाएको नामिबियाले ४० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७२ रन जोड्दै लक्ष्य पूरा गर्न सफल भएको थियो ।

नामिबियाका लागि कप्तान जोरार्ड इरास्मस ५२ रन बनाउँदा माइकल भान लिङ्गेनले ३१, जेजे स्मिथले अविजित ३४ र रुबेल ट्रम्पलम्यानले १६ रन बनाएका थिए । बलिङमा नेपालका कुशल भुर्तेलले तीन विकेट लिंदा दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल, कुशल मल्ल र ललित राजवंशीले एक एक विकेट लिन सफल भएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३७।१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६८ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५८ रन बनाएका थिए । उनले ६४ बलमा आठ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका हुन् ।

यस्तै कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करण केसीले १२ रन बनाएका थिए । बलिङमा नामिबियाका बेर्नार्ड स्कोल्ट्ज र जान निकाले लोफ्टी इएटनले चार चार विकेट लिन सफल भए । कप्तान जोरार्ड इरास्मस र ज्याक ब्रसिलले एक एक विकेट लिएका थिए ।

जितसँगै चीन खेलबाट चार अङ्क बनाएको नामिबिया शीर्ष स्थानमा उक्लिएको छ । नेपालले तीन खेलबाट दुई अङ्क बनाएको छ । नेदरल्यान्ड्सको दुई खेलबाट दुई अङ्क छ । नेपाल सिरिजको पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो । नेपालले यस सिरिजको चौथो तथा अन्तिम खेल आइतबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

आठ टोली सहभागी आइसिसी विश्वकप लिग–२ मा नेपाल, नामिबिया र नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स (युएई) र अमेरिका रहेका छन् । सन् २०२७ सम्म चल्ले यस लिगमा प्रत्येक टोलीले त्रिकोणात्मक सिरिजको ढाँचामा कूल एक सय ४४ खेल खेल्नेछन् ।

जसमध्ये शीर्ष चारमा रहने टोलीले एक दिवसीय मान्यता जोगाउने छ भने विश्वकप छनोट खेल समेत खेल्न पाउनेछ । लिग–२ सिरिजको अघिल्लो लामो चक्रमा नेपालले गतवर्ष पछिल्ला खेलहरूमा लगातार ११ जित निकाल्दै एक दिवसीय मान्यता जोगाउँदै लिग–२ मै रहेको थियो ।