प्रतिकात्मक तस्वीर
काठमाडौँ — राजधानीको चक्रपथस्थित सिताइलामा आज बिहान तीन जनाको हत्या गरेका व्यक्तिले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्दै आएका राजु घिमिरे भन्ने काजी किले आज बिहान श्रीमती र दुई बालिकाको हत्यागरी आफुले पनि आत्महत्या गरेको प्रहरीले जानकारी गराएको हो ।

काजी विकद्वारा मानिरेमा ३८ वर्षकी श्रीमती ईश्वरी श्रेष्ठ, आठ वर्षकी छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी सिवानी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । आठ वर्षीय अनिशा ईश्वरीकी छोरी हुन् भने सिवानी ईश्वरीको पहिलो श्रीमानबाट जन्मेको छोराकी छोरी रहेको अनुसन्धानका क्रममा खुलेको छ ।

काजी विकसँग दोस्रो विवाह गरेका आएपछि ईश्वरीले पाएको छोरा काजीले पैसा लिन जाने बहाना बनाएर बाहिर पठाइ श्रीमतीसहित तीन जनाको हत्या गरेको खुलेको छ ।

आज बिहान भएको उक्त हत्याको घटनापछि काजी विक नागार्जुनको जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । हत्यापछि काजीले ईश्वरीका आफन्तलाई समेत फोन गरेर घटनाबारे जानकारी दिँदै आफू पनि मर्न गइरहेको बताएका अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीका अनुसार नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्दै आएका उनीहरुबीच पारिवारिक विवाद रहेको थियो । ज्यामी काम गर्दै आएका काजीले श्रीमतीलाई हम्बर र दुवै बच्चालाई चक्कु प्रहार गरेर हत्या गरेको देखिने मृतहरुको शरीरमा देखिएको घाउचोटको प्रकृतिले देखाएको र प्रहरीले घटनास्थलबाट हम्बर र चक्कु समेत बरामद गरेको छ ।