फाइल तस्वीर
काठमाडौँ — हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । यतिबेला मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदलीको अवस्था छ भने बाँकी भूभागमा मौसम आंशिक बदलीको अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने महाशाखाले जनाएको छ । आज दिउँसो मधेस प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर आंशिक देखि साधारणतया बदलीकै अवस्था रहने छ । राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानसहित देशका बाँकी पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनरचटयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।