फाइल तस्वीर


काठमाडौँ — जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही स्थानका लागि कर्फ्युआदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश अनुसार आज सोमबार साँझ पाँच बजेदेखि लागूहुनेगरी कर्फ्यु आदेश जारी गरेको हो ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा सरस्वती पूजाको दिनपछि उत्पन्न भएको विवाद चुलिंदै जाँदा वीरगञ्जमा आज सोमबार प्रदर्शन भएको थियो । सोही प्रदर्शनलाई लिएर सम्भावित दुर्घटना नहोस् भन्ने अभ्रिप्रायले वीरगञ्ज महानगरपालिकाको केही स्थानमा आज प्रदर्शन भएपछि सम्भावित भडप हुन नदिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।

जारी कफ्र्यु आदेश अनुसार पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यु आदेश जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।