काठमाडौँ नेपाल पुनर्बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन आह्वान गरेको छ । कम्पनीले आज सोमबार एक सूचना सार्वजनिक गर्दै खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न आवेदन माग गरेको हो ।
प्रमुख कार्यकारी अधिकृतमा आवेदन दिने आवेदनकर्ताले बीमा, मौद्रिक , बैकिङ, वित्तीय, वाणिज्यशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको भए पाँच वर्ष, बैंक वा वित्तीय क्षेत्रमा भए आठ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा कम्तीमा एक वर्षको अनुभवसहित कम्तीमा सात वर्षको अनुभव हासिल गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
कम्पनीले राजनीतिक दलको सदस्य नरहेको व्यक्तिबाट आवेदन माग गरेको छ । इच्छुक उम्मेदवारले ५ हजार दस्तुर बुझाएर नेपाल पुनर्बीमा कम्पनीमा आवेदन पठाउनुपर्नेछ ।
यस्तै चार्टर्ड एकाउन्टेन्सी गरेको वा बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातक वा सो सरहको उपाधि हासिल गरेको र कम्तीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा दश वर्ष, बैंक तथा वित्तीय क्षेत्रमा भए १५ वर्ष वा दुवै क्षेत्रमा भए बीमा क्षेत्रमा कम्तीमा एक वर्षको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभव हासिल गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।