टक्सार — भोजपुर नगरपालिका–५ बोखिकले किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ उन्नत जातका फलफूलका बिरुवा वितरण गरेको छ । राष्ट्रिय फलफूल केन्द्रले सूचीकृत गरेको नर्सरीबाट ल्याएर वडाभित्रका करिब दुई सय किसानलाई स्याउ, अङ्गुर, नास्पातीलगायतका बिरुवा वितरण गरेको वडाध्यक्ष फबिन्द्र प्रधानले बताउनुभयो । धरान, विराटनगरलगायत ठाउँबाट खरिद गरेर ल्याइने फलफूलजन्य सामग्रीलाई रोकेर आफ्नै जिल्लामा उत्पादन गर्न किसानलाई प्रोत्साहन गर्न अनुदानमा बिरुवा वितरण गरेको उहाँको भनाइ छ ।

चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट विनियोजन भएको रु दुई लाख २५ हजार र किसानमार्फत २५ प्रतिशत गरी रु तीन लाखबराबरको बिरुवा वितरण गरिएको वडाध्यक्ष प्रधानले बताउनुभयो । वडा कार्यालयमार्फत हावापानी अनुकूल बिरुवा वितरण गरिएपछि स्थानीय किसान उत्साहित बनेका छन् ।

“कृषि विज्ञसँगको परामर्शमा वडाले बिरुवा वितरण गरेको हो”, वडाध्यक्ष प्रधानले भन्नुभयो । यसबाट किसानलाई राहत मिलेको उहाँको भनाइ छ ।