फाइल तस्वीर: मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव ।


जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट विश्वासको मत लिने हुनुभएको छ । जनता समाजवादी पार्टी नेपालबाट मुख्यमन्त्री बन्नुभएका यादवले पर्सी आइतबार विश्वासको मत लिन लाग्नु भएको हो ।

गत माघ ९ गते जनमत पार्टीका दुई जना मन्त्रीले मधेश सरकार छाडेर विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिन भित्र मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनु पर्ने कानुनी बाध्यता छ । मुख्यमन्त्रीले फागुन ९ गतेसम्ममा विश्वासको लिनुपर्ने हुन्छ ।

सत्ता गठनबन्धनका दलहरुबीच विश्वासको मतलिनु अघि आलोपालो सरकारको नेतृत्व टुङ्ग्याउनु पर्ने लगायतका केही सर्तहरु राखेका थिए । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहका अनुसार आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मुख्यमन्त्री यादवलाई तत्काल विश्वासको मत दिने निर्णय गरेकोे छ ।

नेता भारतप्रसादका अनुसार मधेश सरकार आलोपालो प्रणालीलगायत अन्य विषयमा पछि बैठक बसेर टुङ्गो लगाउने सहमति भएको पछि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरिएको हो ।

मुख्यमन्त्री यादवले पर्सी आइतबार विश्वासको मत लिने तयारी गर्नुभएको छ । आइतबार विश्वासको मत लिने गरी मधेश प्रदेशसभा सचिवालयलाई मुख्यमन्त्री यादवले हिजो बिहीबार पत्रसमेत पठाइसक्नुभएको छ । मधेश सरकारले विश्वासको मत प्राप्त गरेपछि रिक्त रहेको दुई मन्त्रीमा नियुक्त गर्ने बताइएको छ ।