नयाँदिल्ली – भारत सरकारले बिहीबार उत्तरी राज्य उत्तराखण्डबाट देशकै पहिलो हेलिकप्टर आपतकालीन चिकित्सा सेवा सुरु गर्ने घोषणा गरेको छ । सङ्घीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले आफ्नो सामाजिक सञ्जालमा यस सेवाको तयारीबारे जानकारी दिनुभएको हो ।

मन्त्री ज्योतिरादित्य सिन्धियाले, “म उत्तराखण्डका जनतालाई जानकारी दिन चाहन्छु – यस किसिमको आकस्मिक सेवा यही राज्यबाट सुरु हुनेछ र त्यसका लागि हेलिकप्टर परिचालन गर्ने र त्यसको प्रमाणीकरण गर्ने काम भइरहेको छ,“ भनी उल्लेख गर्नुभयो ।

सिन्धियाका अनुसार, ऋषिकेशको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा हेलिकप्टर राखिनेछ र यसले १५० किलोमिटर आसपासका जनतालाई आवश्यक सेवा पुर्याउने छ । यस सेवाले टाढाका मानिसहरूलाई पनि ट्रमा केयर सेवाहरू प्रदान गर्न हेलिकप्टरहरू प्रयोग गर्ने सरकारको पहलको रूपमा सहयोग गर्ने छ । यस सेवाको उद्देश्य आकस्मिक दुर्घटना पीडित र पहाडी भूभागका बिरामीहरूलाई समयमै उपचारका निम्ति यातायात उपलब्ध गराउने उद्देश्य रहेको उहाँले उल्लेख गर्नु भएको छ ।