फाइल तस्वीर
गाजा — दक्षिणी सहर रफाह र गाजापट्टीको वरपरका क्षेत्रमा इजरायली सेनाले गरेको भारी आक्रमणमा सोमबार सय भन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा महिला तथा बालबालिकासहित सयौँ घाइते भएको आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी डब्ल्एफए (WAFA) ले जनाएको छ ।

सोमबार बिहान रफाह क्षेत्रमा इजरायली सेनाले करिब ४० वटा हवाई आक्रमणसहित जमिनमा गोलाबारी गरेको बताइएको छ । इजरायली सेनाले सोमबार दक्षिणी गाजामा आतङ्कवादीले शङ्खलाबद्ध आक्रमण गरेको तर अन्य विवरण प्रदान नगरेको बताएको छ ।

सात अक्टोबर २०२३ देखि गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २८ हजार एक सय ७६ पुगेको छ । आक्रमणमा ६७ हजार सात सय ८४ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत बताएको छ ।

गाजामा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि करिब आधाआधी बासिन्दा सुरक्षाको खोजीमा इजिप्टको छेउमा रहेको रफाहमा पुगेका छन् । रफाह क्रसिङमार्फत विदेशी देशहरू र संयुक्त राष्ट्रका एजेन्सीबाट खाना तथा औषधि सहायता प्राप्त गर्दे जीवन गुजारिरहेका छन् । सीमावर्ती रफाह सहरमा कृषि भूमि, विद्यालय र सडक किनारमा विस्थापितहरूले भरिएको छ ।