काठमाडौँ — कोशी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री केदार कार्कीले ४ जना मन्त्री तथा दुई जना राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल बिस्तार गर्नुभएको छ । मुख्यमन्त्री नियुक्त भएको चार महिना पुग्न लाग्दा कार्कीले आज शुक्रबार सरकार बिस्तार गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रबाट नारायण बुर्जा मगरलाई खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय, राजेन्द्र कार्कीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ । यसैगरी नेपाली काङ्गेसबाट प्रदीपकुमार सुनुवारलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने रामकुमार खत्रीलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ । काङ्ग्रेसबाटै इन्दिरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री कार्की स्वयमले राख्नु भएको छ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।