सप्तरी — मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा राजेश अहिराजले पृथ्वीनारायण शाहका नाममा आज सप्तरीको कञ्चनरुपस्थित नन्दराज सङ्ग्रौला क्याम्पस रूपनगरमा छात्रवृत्ति कोष स्थापना गर्नुभएको छ । समुदायद्वारा सञ्चालित क्याम्पसमा आयोजित एक समारोहकाबीच उहाँले एक लाख एक हजार हस्तान्तरण गदै ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ स्थापना गर्नुभएको हो ।

डा अहिराजले गाउँका विद्यार्थीका लागि केही गरौँ भन्ने उद्देश्यले यस क्याम्पस कोष स्थापना गरेको बताउनुभयो । “जीवन सार्थक बनाउन मानिसले आफ्नो आर्जनको न्यूनतम् दश प्रतिशत सामाजिक सेवामा लगाउनुपर्छ”, उहाँले भन्नुभयो । 

मधेस मामिलामा विद्यावारिधि गर्नुभएका अहिराजले पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गर्नुभएको र  हामीहरुले नेपालीको भावनात्मक एकीकरण गर्न आवश्यक रहेको बताउनुभयो । भूगोलसँगै भावनाको एकीकरण हुन जरुरी रहेको उहाँको भनाइ छ । 

क्याम्पसमा अध्ययनरत विपन्न तथा जेहन्दार विद्यार्थीलाई उच्च शिक्षामा सहयोग गर्ने उद्देश्यले आरम्भ गरिएको अक्षय कोष रकमबाट प्राप्त बैंंकको ब्याजबाट छात्रवृत्ति उपलब्ध गराइने क्याम्पसले जानकारी दिएको छ । अक्षय कोषमा रु एक करोड जम्मा गर्ने लक्ष्य लिइएको सो क्याम्पसका प्रमुख प्राध्यापक दीपककुमार गजुरेलले बताउनुभयो ।

“अक्षय कोषलाई रु एक करोडको बनाएर यो क्याम्पसमा अध्ययन गर्ने सबै छात्रछात्रालाई निःशुल्क शिक्षा दिने हाम्रो सपना हो”, प्राध्यापक गजुरेल भन्नुहुन्छ,“गाउँमा उच्च गुणस्तरको शिक्षा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।”

डा अहिराजको योगदानबाट प्रभावित भएर क्याम्पसका अध्यक्ष गिरिराज सङ्ग्रौलाले छात्रवृत्ति कोषमा रु ५१ हजार थप गर्ने घोषणा गर्नुभयो । अक्षय कोषमा रूपनगर निवासी रामप्रसाद खतिवडाले रु २१ हजार एक सय ११, प्रमिला खतिवडाले रु ११ हजार एक सय ११ र दुवलक्ष्मी श्रेष्ठले १० हजार योगदान गर्नुभयो ।

त्यस अवसरमा उच्च अदालत धनकुटाका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्दले यो छात्रवृत्तिबाट विद्यार्थी प्रोत्साहित हुने आशा व्यक्त गर्नुभयो । “शिक्षा गुणस्तरीय नभएसम्म समाजले उन्नति गर्न सक्तैन”, डा बागचन्दले भन्नुभयो, “हामी सबैले शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ ।”

कञ्चनरूप नगरपालिकाकी उपप्रमुख मुना पोखरेलले विद्यार्थीलाई आफूले र नगरपालिकाको तर्फबाट हरेक तवरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शिक्षाको मन्दिरमा गुरुको स्थान उच्चतम् हुने सनातन परम्परा अनुशरण गर्दै कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानाध्यापक शम्भुप्रसाद घिमिरेले शिक्षाकोस्तर कमजोर भएकोमा चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रमको उद्घाटन तुलसीमा जल अर्पण गरी नवीन शैलीबाट गरिएको थियो ।