काबुल — जलवायु परिवर्तन तथा वर्षौंको खडेरीले दुई करोड दश लाख अफगानीहरू पिउने पानीको पहुँचबाट वञ्चित भएको राष्ट्रिय वातावरण कार्यक्रम निकाय (एनईपीए) का उपप्रमुख अब्दुल सलाम हक्कानीले बताउनुभएको छ । अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार अफगानीस्तानको आधा जनसङ्ख्यालाई शुद्ध पिउने पानीको पहुँचको अभाव भएको हो ।


हक्कानीले आज बुधबार जलवायु परिवर्तनका कारण युद्धग्रस्त अफगानिस्तानको तीन प्रतिशत जङ्गललाई नष्ट गरेकाले नियमित वर्षामा ३७ प्रतिशतले कमी आएको उल्लेख गर्नुभएको छ । अफगानिस्तानले वर्षौँदेखि खडेरीको सामना गरिरहेको छ । परिणामस्वरुप राजधानी काबुललगायतका स्थानमा भूमिगत पानीको मन्दी आएको छ । यसैबीच सहरका करिब ६० लाख मानिसहरू चरम पानीको अभावको सामना गरिरहेका छन् ।

एनईपीएका जलवायु परिवर्तन विभागका प्रमुख रोहुल्लाह अमीनले जलवायु परिवर्तनबाट उत्पन्न समस्याहरूको सामना गर्न अनुमानित दुई अर्ब अमेरिकी डलर चाहिने बताउनुभएको छ ।

अफगानिस्तानका उच्च शिक्षा उपमन्त्री लुतफुल्ला खैरखवाहले आगामी दिनमा पूर्वी सहर जलालाबादको नानगाहर विश्वविद्यालयमा अफगान र अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी सम्मेलन हुने जानकारी गराउनुभएको छ ।