महोत्तरीमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली ।


महोत्तरी— पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताउनुभएको छ । आज सोमबार महोत्तरीमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले सरकार ढाल्ने काममा आफ्नो पार्टी नलाग्ने बताउनुभएको हो ।

एमालेले आगामी २०८४ सालमा हुने निर्वाचनमा बहुमत ल्याएर सरकार हाँक्ने उद्देश्यका साथ अघि बढेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो ‘यस्तो खालको गठबन्धन भत्काउने, ढाल्नेतिर केही होइन । हामी मिसन २०८४ भनेका छौं । दिगो ढङ्गले हामी राजनीति गर्न चाहन्छौं । बहुमत ल्याएर सरकार बनाउन चाहन्छौं । बहुमतको सरकार हाँकेर देश बनाउन चाहन्छौं ।’

वर्तमान गठबन्धनको सरकारले जनताका लागि केही गर्न नसकेको दावी गर्दै नेता ओलीले ‘यो गठबन्धन निकम्मा त हो नि । जनताका लागि केही गर्न नसक्ने यो गठबन्धन । अनि, छिमेकीहरु, मित्रहरुसँग भेटदा आँखा जुधाएर कुरा गर्न नसक्ने, देशको हितको पक्षमा कुरा बोल्न नसक्ने, टाउको निहु¥याएर हात मोलेर बस्ने यो कस्तो खालको गठबन्धन हो’ भनि प्रश्न गर्नुभयो ।

सत्ता गठबन्धनभित्रका दलको आफ्नै स्वार्थ बाझिन थालेकाले यो कति दिन चल्छ भन्ने प्रश्न उठेको दावी गर्दै एमाले अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार हटेपछि देशमा विकास, निर्माण ठप्प भएको जिकिरसमेत गर्नुभयो ।