कर्णाली — कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीलाई गरिबी र बेरोजगारीबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशसभा सचिवालयद्वारा छैटौँ प्रदेशसभा स्थापना दिवसका अवसरमा आज आयोजित ‘मूल समारोह’को उद्घाटन गर्दै प्रदेश प्रमुख परियारले गरिबी र बेरोजगारीबाट कर्णालीलाई मुक्त गरी सामाजिक न्यायमा आधारित समतामूलक समाजको आधार खडा गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश प्रमुख परियारले भन्नुभयो, “कर्णालीलाई विकास, सुशासन र सामाजिक न्यायसहितको समृद्धिको उचाइमा पुर्याउन आवश्यक छ ।” कर्णाली प्रदेशसभा जनताको सार्वभौमसत्ता सम्पन्न जनप्रतिनिधिहरुको उच्चतम थलो भएकाले यसको महत्व र उपदेयतालाई आत्मसात् गरी कर्णालीको विकास, सुशासन र सामाजिक न्यायसहितको समृद्धिका लागि प्रदेशसभा सदस्यहरुलाई राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर जनताको सेवा गर्न अनुरोध गर्नुभयो । 

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकार क्रमागत र बहुवर्षीय योजना कार्यान्वयनमा लागेको बताउनुभयो । सृजनशीलता प्रयोग गर्न नपाइएको गुनासो गर्दै उहाँले भन्नुभयो, “केही पनि नभएको भन्ने होइन तर आवश्यकताअनुसार विकासले गति लिन सकेको छैन ।”

प्रदेशसभामा विपक्षी दलका नेता यामलाल कँडेलले प्रदेश सरकारको विकास–निर्माणको गति जनअपेक्षाअनुरुप नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “ग्रामीण भेगका जनताको अवस्थाले सरकारले काम गरेनगरेको थाहा हुन्छ ।”

सभामुख नन्दा गुरुङले जनप्रतिनिधिहरुको साझा थलोले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताउनुभयो । 

त्यस अवसरमा कर्णाली प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, योजना आयोगका उपाध्यक्ष तथा सदस्य, प्रदेश सरकारका प्रमुख सचिव, न्यायाधीश, जिल्ला तथा नगर प्रमुख, प्रदेश सरकारका सचिवसहित पत्रकारहरुको सहभागिता थियो भने विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।