फाइल तस्वीर
धादिङ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) को धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ । शुक्रबारबाट सुरु भएको नवौं जिल्ला सम्मेलनमा कार्यकर्ताहरुबीच नै दोहोरो झडप भएपछि अधिवेशन स्थगित हुन पुगेको हो ।

आज आइतबार बन्दसत्र सुरुहुन नपाउँदै कार्यकर्ताबीच झडप भएपछि अधिवेशन स्थगित गरिएको छ । एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा उक्त अधिवेशन स्थगित भएको उल्लेख छ ।

अध्यक्ष ढुङ्गेलद्वारा जारी गरिएको विज्ञप्तिमा अधिवेशन स्थलमा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको र त्यसक्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात समेत भाँचिएको उल्लेख छ ।

अध्यक्ष ढुङ्गेलद्वारा जारी विज्ञप्ति सादा काजगमा छ । ‘कार्यक्रममा जाँदा लेटरहेट, चलानी बोकेर हिँडिदैन । त्यसैले सादा पानामा विज्ञप्ती लेखेर हस्ताक्षर गरेको हुँ। अधिवेशन स्थल अशान्त भएपछि यसो गर्न बाध्य भएँ’ — अध्यक्ष ढुङ्गेलले बताउनुभयो ।

तर धादिङ जिल्ला कमिटीका अध्यक्ष भूमि त्रिपाठीले भने प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गलको विज्ञप्ती किर्ते भएको दावी गर्नुभएको छ । जिल्ला अध्यक्ष त्रिपाठीले अधिवेशन नरोकिएको जानकारी दिदैं विज्ञप्ति सार्वजनिक गर्नुभएको छ ।

जिल्ला अध्यक्ष त्रिपाठीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ — ‘२०८० माघ १९ गते देखि जारी नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशन भैरहेकोे अवस्थामा केही अनाधिकृत व्यक्तिले अधिवेशनको कार्यक्रम स्थगित भएको भनि सामाजिक सञ्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा एमाले धादिङको गम्भीर ध्यानाकर्षण भएको छ। बन्द सत्रको कार्यक्रम निरन्तर सञ्चालन भईरहेको व्यहोरा अवगत गराउद सबैलाई यो भ्रममा नपर्न अनुरोध गर्दछु’ ।

बागमती प्रदेश कमिटिका अध्यक्ष ढुङ्गेलले आफ्नो गुटलाई जिल्लामा स्थापित गराउन विभिन्न हथकण्डा अपनाउको स्थानीय नेताहरुले बताएका छन् । जिल्ला अधिवेशनमा प्रतिनिधिका रुपमा आएका नेताहरुले आफ्नो गुटको हार निश्चित भएपछि प्रदेश अध्यक्ष ढुङ्गेलले जिल्लाका नेताहरु खेम लोहनी र रमेश आचार्यको इशारामो संगठनको लेटर प्याड, छाप र चलानी बिना मनोमानि ढङ्गले विज्ञप्ति जारी गरेको आरोप लगाएका छन् ।

प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलद्वारा सादा कागजमा जारी विज्ञप्ति

जिल्ला अध्यक्ष भूमि त्रिपाठीद्वारा जारी विज्ञप्ति