काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी भूभागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भूभागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षा र हिमपातका कारण देशभर चिसो बढ्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।