पोखरा — पोखरामा जारी मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता ‘आहारारा पोखरा गोल्डकप’ को विभागीय टिम नेपाली सेनाको आर्मी क्लबले जित्न सफल भएको छ । आज भएको फाइनल खेलमा आर्मीले चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टार क्लबलाई पाखा लगाउँदै पहिलो पटक आहारारा पोखरा गोल्डकपको उपाधि चुम्न सफल भएको हो ।


पाँच पटकसम्म फाइलनमा पुगेर उपविजेतामा चित्त बुझाउँदै आएको आर्मी क्लबले ‘आहारारा पोखरा गोल्डकप’ को २३ औं संस्करणमा पुगेर बल्ल बाजीमार्न सफल भयो ।

आर्मीले २३ औं संस्करणमा आएर उपाधि चुमेको मात्र छैन, विधागत पुरस्कारमा पनि आर्मीले कब्जा जनाएको छ । उसले विभिन्न छ विधामा पुरस्कृत हुने अवसर पनि प्राप्त गरेको छ । आर्मी बेस्ट प्लेयरसहित डिफेन्डर, फरवार्ड, मिडफिल्डर, गोल रक्षक र प्रशिक्षक विधामा उत्कृष्ट ठहरिएको छ ।

आर्मीका विमल पाण्डे खेलकै उत्कृष्ट खेलाडी घोषित हुँदै ‘बेस्ट प्लेयर अवार्ड’ सँगै टेल्जी स्कुटर प्राप्त गरे । पाण्डेले प्रतियोगिताको बेस्ट डिफेन्डर अवार्ड पनि हात पारे भने आर्मीकै दिनेश हेन्जनले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे । दिनेशले जारी प्रतियोगितामा सबैभन्दा धेरै तीन गोल गर्दै सर्वाधिक गोलकर्ता बनेर पुरस्कार पाउन सफल भए । बेस्ट फरवार्डको उपाधि पनि आर्मीकै जिलेप्सीजङ्ग कार्कीले जिते भने आर्मीका प्रशिक्षक मेघराज केसी उत्कृष्ट प्रशिक्षक घोषित भए ।

आर्मीकै भरत खवास र थ्रीस्टारका गोल रक्षक पब्लिक च्वाइस अवार्ड पाउँदा आर्मीका गोल रक्षक समित श्रेष्ठ प्रतियोगिताकै उत्कृष्ट गोल रक्षक बनेका छन् । प्रतियोगितामा फेयर प्ले अवार्ड जावलाखेल युथ क्लबले जित्यो भने बेस्ट मिडफिल्डर अवार्ड थ्रीस्टारका विवेक पौडेलको पोल्टामा पुग्यो ।

शीर्ष उपाधि विजेता त्रिभुवन आर्मी क्लबले १२ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको थ्रीस्टार क्लबले ६ लाख १ हजार रुपैयाँमा चित्त बुझाउनु परेको छ ।


पाँच पटकको विजेता थ्रीस्टारलाई ३–० गोलको फराकिलो अन्तरले हराउँदै आर्मी क्लबले उपाधि चुमेको हो ।