प्रतिकात्मक तस्वीर

काठमाडौँ — प्रहरीले ठगीको अभियोगमा काठमाडौँ जिल्ला बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ घर भएका ४० वर्षीय मिङमार लामालाई पक्राउ गरेको छ । क्रोएसिया पठाइदिन्छु भन्दै नगद ठगी गरेको उजुरीका आधारमा उनलाई प्रक्राउ गरिएको हो ।

लामाले एक जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक एक लाख रुपैयाँ तलब पाउने गरी काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक गरी तीन लाख रकम ठगी प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले लामालाई काठमाडौँ महानगरपालिका–६ बौद्धबाट पक्राउ गरेको हो । लामालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी ठगीकै अभियोगमा काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्ने सल्यान बङ्गाद कुपिन्डे नगरपालिका–७ घर भएका ४२ वर्षीय जगत ओली क्षेत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रोमानिया पठाइदिन्छु भन्दै ओलीले नगद एक लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

ओलीले एक जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई होटलमा मासिक ७० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भनि प्रलोभन देखाएर पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ समाखुशीबाट पक्राउ गरेको हो ।

गोरखा पालुङ्टारका भरत भट्टराई पनि यस्तै गठीको अभियोगमा पक्राउ परेका छन् । जापान पठाइदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्दै आएका गोरखा पालुङटार नगरपालिका–१ घर भएका ३० वर्षीय भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो । भरतले एक जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई होटलमा मासिक एक लाख ७० हजार रुपैयाँमा तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ सामाखुशीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।