टीकापुर — कैलालीका पालिका यतिखेर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउन पालिकास्तरमा खेलाडी छनोट गर्दैछन् । स्थानीय पालिकामा भएका खेलमा सहभागी छोरीहरु हौसला र सहयोगले सफलता पाउन सकेको बताउँछन् । उनीहरु आफूहरुलाई खेल क्षेत्रमा अगाडि आउन अभिभावक, विद्यालयले सहयोग गरेकाले त्यसमा जुटेको बताउँछन् ।

टीकापुर नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खड्ग स्मृति माविकी भूमिका बम हाइजम्पमा प्रथम हुनुभयो । उहाँ परिवार, शिक्षकको हौसलाले नै सफलता मिलेको बताउनुहुन्छ । “म सानैबाट दौड्ने, उफ्रने गर्दथे, मलाई यसरी प्रतियोगितामा सहभागी हुन्छु भन्ने थाह थिएन”, भूमिकाले भन्नुभयो, “मेरो रुचि देखेर होला । शिक्षकले खेलमा लाग भन्नुभयो, परिवारले पनि साथ दिएकाले मेरो आत्मविश्वास बढ्यो”, भूमिका अब जिल्लास्तरमा कसरी जित्ने भन्ने तयारीमा हुनुहुन्छ ।

राष्ट्रिय मावि मनिकापुरकी सञ्जिता चौधरी आठ सय मिटर दौडमा प्रथम हुनुभयो । उहाँलाई दौडमा सहभागी हुन विद्यालयले हौसला दियो । उहाँ अब राष्ट्रपति रनिङ शिल्डका लागि थप तयारी गरिरहनुभएको छ । छोरीहरु पढाइमा मात्र अब्बल भएको हेर्न चाहने समाजमा यी छोरीहरुलाई खेलमा अगाडि बढ्न सबै क्षेत्रबाट सहयोग मिलेको छ । “दैनिक बिहान दौड्न थालेकी छु । खेलकुदमा व्यस्त रहेका बेला छुटेको पढाइमा विद्यालयले अतिरिक्त कक्षाको व्यवस्था गर्छु भनेको छ”, सञ्जिता भन्नुहुन्छ, ‘‘छोरीहरु बलियो बन्न खेलले बढी सघाउँछ भनेर महिला शिक्षकले भन्ने गर्नुभएको छ । म अब यसलाई निरन्तरता दिनेछु । पढाइसँगै खेलमा आफूलाई सफल बनाउने गरी अघि बढ्नेछु ।”

खड्ग स्मृति माविकै कविता सोडारी तीन हजार मिटर दौडमा प्रथम हुनुभयो । “सुरु सुरुमा खेलकुदजस्ता अतिरिक्त क्रियाकलापमा सहभागी हुने रुचि थिएन । पछि शिक्षकले हौसला दिएपछि आफूमा भएको क्षमता किन लुकाउने भन्ने लाग्यो”, उहाँले भन्नुभयो, “यहाँ त जितियो, अब जिल्लामा कस्तो हुन्छ ? तर मेहनत गर्छु । यो जितले मेरो आत्मविश्वास बढेको छ ।”

वीरेन्द्र विद्या मन्दिरकी बेला डेमनडौरा कराते प्रतियोगिताको ५० केजी तौल समूहमा प्रथम हुनुभयो । पाँच वर्षदेखि नियमित अभ्यास गरिरहेकी बेलालाई यो क्षेत्रमा बेलाका पिताको हौसलाले ल्याएको हो । “टीकापुरमा कराते सिकाउने केन्द्र खुलेपछि बुबाले मलाइ नि सिक्न पठाउनुभयो । छोरीहरु शारीरिकरुपमा बलियो हुनुपर्छ भनी थालेको यो अभ्यासले आज विजेता बनायो”, उहाँ भन्नुहुन्छ, “महिला हिंसामा परेको, कमजोर भएको देखेर बुवाले देखाएको बाटो राम्रो रहेछ भन्ने बुझ्ने भएकी छु ।”

मनकामना बोडिङ स्कुलकी आश्मा भण्डारी ४२ केजीमा प्रथम हुनुभयो । “छोरीहरुको आत्मरक्षा, शारीरिक रुपमा बलियो हुनका लागि करातेमा लाग्न आवश्यक रहेको उहाँ बताउनुहुन्छ”, “हामीमाथि हुने हिंसा न्यूनीकरण गर्न, अरुलाई पनि हिंसा हुनबाट जोगाउन हामीसक्षम हुनुपर्ने रहेछ”, उहाँ भन्नुहुन्छ, “यसका साथै खेल क्षेत्रका माध्यमले देशको नाम चिनाउनेछौँ ।”

खेल क्षेत्रमा लागेका छोरीहरुलाई घरपरिवार, विद्यालय र राष्ट्रले लगानी बढाउन आवश्यक रहको सरस्वती मावि वनगाउँका शिक्षक सम्झना अर्याल बताउनुहुन्छ । “छोरीहरुलाई खेलमा सक्रिय गराउन उनीहरुको पोषणमा ध्यान दिनुपर्छ । उनीहरुका लागि आवश्यक पोषणयुक्त खाना, पारिवारिक वातावरण सहज बनाउनुपर्छ”, उहाँ भन्नुहुन्छ, “विद्यालयले पनि अध्ययनका लागि सहज वातावरण बनाइदिनुपर्छ । खेलमा लगानी गर्नुपर्छ ।”