काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक महिनाअघि नै मन्त्री हेरफेर गर्ने पक्षमा रहे पनि अहिलेसम्म सफल हुन सक्नुभएको छैन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित सत्तारूढ दलका शीर्ष नेताहरूबीच मन्त्री हेरफेर गर्ने’दलगत सहमति जुटिसकेको छ । तर पनि शीर्ष नेताहरू ‘पर्ख र हेर’कै अवस्थामा छन् । फागुन दोस्रो सातापछि मन्त्रीहरू हेरफेर हुने सम्भावना छ ।

११ माघको राष्ट्रिय सभा सदस्य निर्वाचन र ७ फागुनमा बस्ने काङ्ग्रेसको महासमिति बैठकका कारण मन्त्रिपरिषद् हेरफेरमा ढिलाइ भएको भनेर भनिँदै आएको छ । काङ्ग्रेसको महासमिति बैठकपछि मात्रै मन्त्रिपरिषद् हेरफेर हुने काङ्ग्रेस स्रोतको दाबी छ ।

कार्यसम्पादनमा केही मन्त्रीको काम फितलो भएको र काम प्रभावकारी नभएको बताउँदै मन्त्री हेरफेर गर्ने उद्घोष प्रधानमन्त्री प्रचण्डले यसअघि नै गरिसक्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले पुसमै मन्त्री हेरफेर गर्ने चाहना राख्नुभएता पनि काङ्ग्रेस सभापति देउवाले फागुनअघि गर्न नसकिने अडान लिएपछि ढिलाइ भएको हो ।

तर, केही मन्त्रीले मन्त्री हेरफेर नहुने बताउँदै आउनुभएको छ । सरकारमा सहभागी प्रायःजसो मन्त्रीहरू हेरफेरको विरुद्धमा रहेका छन् । प्रधानमन्त्री प्रचण्डले माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितका मन्त्रीलाई हटाएर नयाँलाई ल्याउन खोज्नुभएको छ भने गृहमन्त्री श्रेष्ठले मन्त्री हेरफेर नहुने भन्दै अहिलेकै सबै मन्त्री रहने बताउँदै आउनुभएको छ ।

एक सार्वजनिक कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् हेरफेरको सम्भावना नरहेको दाबी गर्नुभएको थियो । काङ्ग्रेस उपसभापतिसमेत रहनुभएका मन्त्री गुरुङले हिजो बुधबार बुटवलमा आयोजित एक कार्यक्रममा तत्काल मन्त्रीहरू परिवर्तन हुने अवस्था नरहेको दाबी गर्नुभयो । सत्तारूढ दलका नेताहरूबीच तत्काललाई अहिलेकै मन्त्रिमण्डल सही रहेकाले परिवर्तन गरिरहन आवश्यक नपर्ने सहमति भएको दाबी मन्त्री गुरुङको छ ।

तर, माओवादी केन्द्रबाट मन्त्री भएकालाई सोही पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड, काङ्ग्रेसबाट मन्त्री भएकालाई सभापति देउवा र एकीकृत समाजवादीबाट मन्त्री भएकालाई अध्यक्ष नेपालले हटाएर नयाँलाई अवसर दिन खोजेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो एक वर्षे कार्यकाल पूरा गर्दै यस वर्षमा सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्री हेरफेर गरेर अगाडि बढ्न खोजेको बताउनुभएको छ । (आजको राजधानी दैनिकबाट)