फाइल तस्वीर पूर्वमन्त्री बलराम पौडेल ।


नवलपुर — बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको ६३ वर्षको उमेरमा निधन भएको छ । सडक दुर्घटनामा परी पूर्वमन्त्री पौडेलको मृत्युभएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पोखराबाट नवलपुरको गैँडाकोटतर्फ आउँदैगरेको ग १ ख ८५४७ नम्बरको बसले ना ४६ प ७७५९ नम्बरको मोटरसाइकलमा सवार पूर्वमन्त्री पौडेललाई ठक्कर दिंदा गम्भीर घाइते हुनुभएको र उपचारको क्रममा उहाँको निधन भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूर्वमन्त्री पौडेलले मोटरसाइकल चलाउनुभएको थियो ।

नेपाल काङ्ग्रेस महासमिति सदस्यसमेत रहनुभएका पौडल चितवनस्थित भरतपुर महानगरपालिका वडा नं. १७ बेलुवाका स्थायी बासिन्दा पौडेल २०७८ पुस ९ गते बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्नुभएको थियो ।

लमजुङ राइनस नगरपालिका–२ बराङखोला स्थायी घरभएका बसका चालक २६ वर्षीय विष्णुबहादुर कामीलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।