फाइल तस्वीरः ‘गोर’ भनिने चूडामणि उप्रेती ।


काठमाडौँ — तेत्तीस किलो सुन प्रकरणमा थुनामा रहेका ‘गोर’ भनिने चूडामणि उप्रेतीसँग अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग — २०८० बयान लिएको छ । साढे ३३ किलो सुन तस्करीका योजनाकारमध्येका एक ’गोरे’ सँग उक्त आयोगले आज बुधबार बयान लिएको हो ।

काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारमा कैदी जीवन बिताइरहेका गोरेलाई आयोगको कार्यालय सिंहदरबारमा झिकाइ बयान लिइएको हो । विसं. २०७४ साल माघ ९ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा समातिएको सुन गोरेको समूहले ल्याएको अनुसन्धानबाट खुलेको छ । तर उक्त सुन अहिलेसम्म फेला परेको छ्रैन । गोरेले उक्त सुन काठमाडाँैको नयाँबानेश्वरबाट लुटिएको बयान दिएका छन् ।

केन्द्रीय कारागारको गोलघरभित्र रहेका गोरेलाई आयोगले सिंहदरबारस्थित आफ्नै कार्यालयमा बयान लिएको हो । गत असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित उक्त आयोगले गोरेसँग लिएको बयानको विस्तृत विवरण खुलाएको छैन।

आयोगले गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरिएर सिनामङ्गलमा राजस्व अनुसन्धान विभागले बरामद गरेको साढे ६० किलो सुनका सम्बन्धमा पनि सोधपुछ गरेको छ । सो प्रकरणमा अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख र अनुसन्धान अधिकृतसँग पनि यस सम्बन्धमा सोधपुछ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा तस्करीको सुन भित्रिएकोबारे छानबिन गर्न सरकारले गत असोज १४ गते उच्च अदालतका पूर्व न्यायाधीश आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो । उक्त आयोगको सदस्यमा सरकारका पूर्व सहसचिवद्वय किशोरजङ्ग कार्की र प्रेमराज जोशीका साथै पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा हुनुहुन्छ ।