काठमाडौँ– आइसीसी यू–१९ क्रिकेट विश्वकप अन्तर्गत आज सुपर सिक्समा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । आईसीसी यू–१९ विश्वकपको नेपालले समुह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समुह डी मा तेस्रो हुँदै सुपर सिक्समा पुगेको हो । दक्षिण अफ्रिकाको मनगंग ओभलमा हुने यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने दुई बजेदेखि सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा र बङ्गलादेश समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा आएका हुन् । नेपालले समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रनको र पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकालेपछि नेपालले सुपर सिक्समा स्थान बनाएको हो ।

नेपाल अहिले सुपर सिक्सको समुह १ मा समुह चरणको रनरेटको आधारमा पाँचौं स्थानमा रहेको छ । त्यसैले सेमिफाइनलमा पुग्ने नेपालले सुपर सिक्सका दुवै खेल जित्नै पर्ने अवस्था रहेको छ ।

आजको खेलपछि नेपालले पर्सि शुक्रबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ । सुपर सिक्समा रहेका ६ देशले २/२ खेल खेलेपछि शीर्ष स्थानका दुई देश सेमिफाइनलमा पुग्नेछ ।