काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको प्रभाव कायम रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।