फाइल तस्वीर स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला ।
काठमाडौँ — सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकलाई हटाउने भएको छ । माघ ९ गते बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले डा. दामोदर बसौलालाई कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको आदेश विपरीत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई हटाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुभएको थियो । गत पुष २४ पठाउनुभएको मन्त्री बस्नेतको प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार डा. बसौलालाई हटाउन स्वास्थ्य मन्त्रालयले पत्राचार गरिएको जनाएको छ । यसअघि मन्त्री बस्नेतले पदीय जिम्मेवारी पूरा नगरेको भन्दै कार्यकारी निर्देशकलाई गत असोज ४ गते स्पष्टीकरण सोध्नुभएको थियो । डा. बसौला र स्वास्थ्य मन्त्रीबीच विवाद उत्पन्न भएपछि मन्त्री बस्नेतले कार्यकारी निर्देशकलाई हटाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नुभएको थियो ।

मन्त्रिपरिषद् समेत कार्यकारी निर्देशक बसौलालाई तीन महिनाको लागि भन्दै निलम्बन गरेको थियो । कार्यकारी निर्देशक बसौलाले मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा कार्तिक १७ गते दायर गर्नुभएको रिटको सुनुवाई पुष ५ गते निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तिरिम आदेश जारी गरेको थियो ।