फाइल तस्वीर मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्ज ।

माले — मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ । मालदिभ्समा राजनीतिक विवाद चुलिंदै जाँदा त्यहाँको मुख्य विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) ले राष्ट्रपति मुइज्जुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको हो ।

स्थानीय सञ्चारमाध्यम सन इन्टरनेशनलले उल्लेख गरेअनुसार एमडीपीले राष्ट्रपति मुइज्जुविरुद्ध महाअभियोग प्रस्तावमा सांसद्हरुको पर्याप्त सङख्या जुटिसकेको छ । एमडीपीका एक सांसदले सन इन्टरनेशनललाई महाअभियोगको तयारीबारे जानकारी दिएका छन् । महाअभियोग प्रस्तावको पक्षमा एमडीपीसँगै डेमोक्रेट्स सांसदहरु पनि रहेको समाचारमा जनाइएको छ ।

एमडीपीका ४३ र डेमोक्रेट्सका १३ गरी कूल ५६ सांसद छन् । संविधान अनुसार राष्ट्रपतिमाथि महाअभियोग प्रस्ताव पास गर्नका लागि ५६ मतको आवश्यक पर्दछ । हाल संसदका सभामुख र उपसभामुख पनि एमडीपीकै भएकाले महाअभियोग प्रस्ताव पास गर्न उनीहरुको पनि साथ रहेको विश्वास गरिएको छ । भलै उनीहरुले पदबाट राजीनामा दिनुपर्ने हुनसक्दछ । अन्तराष्ट्रिय समाचार संस्था बीबीसले जनाए अनुसार हालै मालदिभ्सको संसदमा महाअभियोग प्रस्ताव दर्ता गराउने नियमहरुलाई सहज बनाइएको थियो ।

राष्ट्रपति मुइज्जु नेतृत्वको सरकारमा चार सदस्य थप्ने विषयलाई लिएर त्यहाँको संसदमा आइतबार कुटाकुट समेत भएको थियो । सत्ता पक्ष र विपक्षी दलका सांसदहरुबीच भएको कुटाकुटले मालदिभ्सको राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ । यो घटना लगत्तै राष्ट्रपति मुइज्जुविरुद्ध महाअभियोग लगाउने चर्चा सुरु भएको हो ।

मालदिभ्समा प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स र पिपल्स नेशनल काङ्ग्रेस (पीपीएम) र पीएनसीको गठबन्धन सरकार छ । ‘इण्डिया आउट’ नारा दिँदै चुनाव जितेका मोहम्मद मुइज्जु राष्ट्रपति छन् । अर्कोतर्फ मालदिभ्सको विपक्षी दल भारतसँग निकट छ । वर्तमान सरकारले भारतसँग सम्बन्ध बिगारेको भन्दै विपक्षी दलले सरकारको कडा आलोचना गर्दै आएको छ । आइतबारको संसद्मा वर्तमान सरकारमा चार जना मन्त्री थप्ने कुरामा चीन पक्ष र भारतको पक्षको पनि विवाद हुँदा सांसदहरुबीच विवाद चर्किएको थियो । यसैको छर्राले मालदिभ्सको राजनीतिलाई तरङ्गित बनाएको हो ।