फाइल तस्वीर


काठमाडौँ — नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज मङ्गलबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली भइरहेको र तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाले जनाए अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा आज हल्का हिमपात हुनसक्ने छ भने कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

तराई मधेशका क्षेत्रमा लागेको हुस्सु र कुहिरोको कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्नको लागि आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका अनुसार आज राति कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसमसफा रहनेछ । कोशी प्रदेशका पहाडी भूभागका एकदूई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।