फाइल तस्वीर
पोखरा — पोखरामा जारी आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको आज तेस्रो क्वार्टरफाइनल खेल हुँदैछ । आज सोमबार दिउँसो साढे २ बजे पोखरा रङ्गशालामा मनाङमस्र्याङ्दी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको हो ।

आजको विजेता टिम अन्तिम चारमा प्रवेश गर्नेछ । अन्तिम आठमा पुगेका चिर परिचित प्रतिद्वन्द्वी यी दुई टिमले क्वाटरफाइनल प्रवेशका लागि भएको खेलमा जावलाखेलले मच्छिन्द्र क्लबलाई हराएको थियो भने मनाङमस्र्याङ्दीले बाई पाएर सिधै अन्तिम आठमा पुगेको हो ।

आहारारा पोखरा गोल्डकपको २३ औं संस्करणसम्म आइपुग्दा यी दुई प्रतिस्पर्धी एक पटकमात्रै मैदानमा भिडेका छन् । २०६८ सालमा पहिलो पटक सहभागी भएको जावलाखेल आफ्नो पहिलो खेलमै फाइनलसम्मको यात्रा तय गरेर उपविजेता बनेको थियो । फाइनलमा मनाङमस्र्याङ्दीसँग भिडेको जावलाखेल उपविजेतामा चित्तबुझाउँदै मनाङमस्र्याङ्दीलाई उपाधि बुझाउन बाध्य भएको थियो । उक्त फाइनल खेलमा मनाङमस्र्याङ्दीले जावलाखेललाई २–० गोलले पाखा लगाउँदै उपाधि जित्न सफल भएको थियो ।

जावलाखेल २२ औं संस्करणसम्म खेल्दा उपाधि चुम्न सकेको छैन भने मनाङमस्र्याङ्दी छ पटक विजेता र पाँच पटक उपविजेता बनेको टिम हो । मनाङमस्र्याङ्दी आहारारा पोखरा गोल्डकपको सर्वाधिक विजेता टिम पनि हो ।

आहारारा पोखरा गोल्डकपको पहिलो संस्करण क्याराभान कपबाटै सहभागी भइरहेको मनाङले हालसम्म २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ मा उपाधि जितिसकेको छ । पछिल्लो समय २० औं आहारारा पोखरा गोल्डकपको फाइनलमा पुगेको मनाङ विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबसँग स्तब्ध हुन पुगेको थियो ।