साङ्केतिक तस्वीर


दमौली — तनहुँको आबुखैरेनीमा मिनी ट्रकसँग मोटारसाइकल ठोकिंदा मोटरसाइकल चालक आबुखैरेनी गाउँपालिका वडा नं.३ बस्ने २६ वर्षीय सफल राना मगरको मृत्यु भएको छ । आइतबार राती मिनी ट्रकसँग मोटरसाइकल ठोकिन पुग्दा उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार आइतबार राति पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ क ५०१२ नं.को मिनी ट्रक र सोही दिशातर्फ आउँदै गरेको प्र.३–०२–००९ प ८५३० नं.को मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक मगरलाई उपचारको लागी आबुखैरेनी अस्पताल लगिएको त्यहाँबाट थप उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मिनी ट्रक र त्यसका चालकलाई ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँको नियन्त्रणमा लिएको छ । उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।