फाइल तस्वीर


पोखरा– मोफसलको चर्चित फुटबल प्रतियोगिता ‘आहारारा गोल्डकप’ आज डिफेन्डिङ च्याम्पियन सङ्कटा क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पधा हुँदैछ । आज आइतबार दिउँसो साढे दुई बजेदेखि सुरुहुने यी दुई क्लबबीचको खेल दोस्रो क्वार्टरफाइनल हो ।

हिजो भएको पहिलो क्वार्टरफाइनलमा थ्रीस्टार क्लबले भुटानको पारो क्लबलाई २—० गोलले हराउँदै अन्तिम चारको यात्रा पक्का गरेको थियो । आज हुने दोस्रो क्वार्टरफाइनल खेलमा डिफेण्डिङ च्याम्पियन सङ्कटा क्लबले त्रिभुवन आर्मी क्लबलाई पाखा लगाएर सेमिफाइनलको यात्रा सुरक्षित गराउन मैदानमा उत्रिदैछ । त्यसो छ त्रिभूवन आर्मी क्लब पनि सङ्कटालाई हराएर सेमिफाइनलको यात्रा तय गर्ने रणनीतिका साथ मैदानमा उत्रिनेछ ।

त्रिभुवन आर्मी क्लबले पहिलो पटक यस प्रतियोगितामा सहभागी भएको नवलपरासीको राइजिङ स्टार क्लबलाई हराएर क्वार्टरफाइनलमा प्रवेश गरेको हो भने डिफेण्डिङ च्याम्पियन सङ्कटा क्लब भने सिधै बाइ पाएर क्वार्टरफाइनमा आर्मीसँगको भिडन्त पक्का गरेको हो ।

यस अघिपनि सङ्कटा र आर्मी क्लब दुई पटकसम्म क्वार्टरफाइनलमै भिडेका थिए । दुई पटकको भिडन्तमा दुवैले एक÷एक खेल आफ्नो पक्षमा पारेका थिए । सङ्कटा हालसम्म ७ पटकमात्रै प्रतियोगितामा सहभागी भएको छ । दुई पटकसम्म आहारारा गोल्डकपको च्याम्पियन बनेको सङ्कटाले सात खेल खेल्दा दुई पटक सेमिफाइनल खेलिसकेको छ । तर आर्मी क्लबले भने अहिलेसम्म आहाराराको उपाधी चुम्न सकेको छैन ।

विभागीय टोली आर्मी १५ औं पटक आहारारा पोखरा गोल्डकपमा सहभागि भएको छ । यस प्रतियोगितामा आर्मी चार पटकसम्म उपाधिको लागि फाइनलमा पुगेको इतिहास छ । तर पनि उसले उपविजेतामै चित्त बुझाउनु परेको छ ।

२०६० सालमा पहिलो पटक सहभागी भएको आर्मीले चार पटकसम्म फाइनल यात्रा तय गरेर पनि रित्तै घर फर्किरहेको छ । चार पटकको उपविजेता आर्मीले आजको खेल जित्न सके अन्तिम चारमा पुग्ने छ । आजको विजेता टिमले माघ १८ गते चर्चब्वाइज र एपीएफबीच हुने खेलको विजेता टिमसँग सेमिफाइनलमा भिड्नु पर्नेछ ।