फाइल तस्वीर


काठमाडौँ — काठमाडौँ उपत्यकामा पछिल्लो समय न्यूनतम तापक्रम घट्दै गएको छ । आज आइतबार बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।

उपत्यकामा यस वर्ष अहिलेसम्मकै बढी जाडो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाले भन्नुभयो ‘आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव २ रेकर्ड भएको छ । यो वर्षमा यो अहिलेसम्मकै कम रेकर्ड हो ।’

गत बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । हिजो शनिबार बिहान पौने ९ बजेको तापक्रम २ दशमलव ५ रहेको थियो । गत पाँच दिनदेखि उपत्यकाको न्यूनतम तापक्रम घटिरहेको र हिउँदे वर्षाको सम्भावना नभएकाले जाडो अझै बढ्न सक्ने विभाागले पूर्वानुमान गरेको छ ।

देशैभर चिसो बढिरहेको छ । तराईका अधिकांश जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पूर्वको तुलनामा पश्चिम तराईमा बाक्लो हुस्सु छ । विभागका मौसमविद्ले बताएअनुसार धनगढी, नेपालगञ्ज, भैरहवा तिर बाक्लो हुस्सु छ भने पूर्वी नेपालको झापा, भद्रपुरतिर तुलनात्मक रुपमा केही कम छ । मौसमविद झाका अनुसार पश्चिम तराईका जिल्लाहरुमा पारदर्शिता (भिजिविलिटी) ५० देखि १०० मिटरसम्म रहेको छ । मौसमविद्का अनुसार यस्तो अवस्था अझै एक/दुई दिन कायम रहने सम्भावना रहेको छ ।

बाक्लो हुस्सु जाडो बढेकाले तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । तर अझै शीतलहरको प्रभाव देखिएको छैन । ‘शीतलहर घोषणा गर्नका लागि निश्चित प्यारामिटर मिट गर्नुपर्छ, त्यो अझै मिट भएको देखिएको छैन, हामी त्यसलाई नजिकबाट नियालीरहेका छौं,’ मौसमविद झा बताउनुभयो ।