फाइल तस्वीर


काठमाडौँ — मध्यमाघमा आइपुग्दा काठमाडौँ उपत्यकामा चिसो बढ्न थालेको छ । तापक्रम घटेसँगै उपत्यकामा तीनदेखि चिसो महसुस हुन थालेको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार बिहान पौने ९ बजे मापन गरिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

यसअघि आजै बिहान पौने ६ बजे तापक्रम मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार उपत्यकाको यो तापक्रम यस वर्षको सबैभन्दा कम हो ।

यसअघि यो वर्षअन्तर्गत काठमाडौँ उपत्यकाको सबैभन्दा कम तापक्रम शुक्रबार ३ डिग्री सेल्सियस थियो । केही दिनयता देशैभर चिसो बढेसँगै न्यूनतम तामक्रम क्रमश घट्दै गएको मौसमविद्ले बताएका छन् ।

महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको दिउँसोको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसबीच रहने अनुमान छ । हिजो शुक्रबार उपत्यकाको अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस थियो । आज दिनभर काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।