फाइल तस्वीर


काठमाडौँ — अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताउनुभएको छ । चालु आर्थिक वर्षको आधाआधि समय वितिसक्दा पनि सरकारले प्रक्षेपण गरेअनुसारको राजश्व नउठ्दा सरकार दबाब परेको हो ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आज शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा परेको खुलासा गर्नुभएको हो । राजश्व संरचनामा परिवर्तन गरिएका कारण पनि लक्ष्यअनुसार राजस्व उठ्न नसकेको अर्थमन्त्रीको भनाइ थियो ।

अर्थमन्त्री महतले भन्नुभयो —‘अहिले हामी राजश्वको दृष्टिकोणबाट अझै धेरै दवाबमा छौँ । राजश्व केही वृद्धि भएको छ । तर हामीले जुन लक्ष्य निर्धारण गरेका थियौँ, त्यो अनुसार हुन सकेको छैन । त्यो नहुनुको कारण एउटा त राजश्व संरचनामा परिवर्तन आइरहेको छ ।’

विद्युतीय सवारीसाधनहरुको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजश्व कम उठेको पनि उनले बताए । इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्युन राखेकाले पछिल्लो आँकडामा ३४÷३५ अर्ब कम भन्सार राजश्व उठेको अर्थमन्त्रीले जानकारी गराउनुभयो ।

अर्थमन्त्री महतले आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको उल्लेख गर्दै अनलाइन प्रणालीलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको बताउनुभयो ।