फाइल तस्वीर


काठमाडौँ — काठमाडौँमा आज यस वर्षकै जाडो महसुस भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बेलुका गरेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस झरेको र यस वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम हो ।

आज शुक्रबार काडमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । यसअघि माघ ८ गते साँझ काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो । महाशाखाका अनुसार शुक्रबार बिहान पौने ६ बजे तापक्रममा केही सुधार भएर न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियसमा उक्लेको छ ।

अहिले नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । माथिल्लो तहमा चिसो बादल आएकाले मौसम पनि चिसिएकोले अघिल्ला दिनको तुलनामा जाडो बढेको हो ।

यद्यपि लामो समयदेखि हिउँदे वर्षा नभएकाले यो वर्ष अघिल्ला वर्षहरुको तुलनामा कम जाडो छ । यदि पानी पर्ने हो भने काठमाडौंको न्यूनतम तापक्रम घटेर जाडो झन् बढ्न सक्ने छ । तर आगामी तीन दिनसम्म पानी पर्ने सम्भावना नरहेको मौसमविद गोविन्द झा जानकारी गराउनुभएको छ ।

जलवायु परिर्वतनको प्रभावले काठमाडौँ उपत्यकाको तापक्रम केही वर्षदेखि बढेको छ । पाँच वर्षको तथ्याङ्कलाई हेर्दा २०७५ साल पुसमा काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियसमा झरेको थियो । त्यसयता काठमाडौँको तापक्रम १ डिग्री सेल्सियसमा झरेको देखिंदैन । सन् १९७८ मा भने काठमाडौंको न्यूनतम तापक्रम माइनससम्म पुगेको रेकर्ड छ ।